नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाग भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन्।
बिहीबार कैलालीको धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै यसमा भारतले बखेडा गरिरहनु आवश्यक नभएको बताएका हुन्।
महाकाली नदी दुबै देशको साझा नदी भएको स्वीकारिएकाे अवस्थामा महाकाली नदी वारीको भूभाग नेपालको भएको देउवाले स्पष्ट पारे।
देउवाले भने,लिपुलेक तीन देशको व्यापारिक नाका भएपनि कालापानी र लिम्पियाधुरा हाम्रै भूमि हो यसमा विवाद जरुरी छैन।नेपाल शिक्षक संघको शुक्रबार हुने ७ नम्बर प्रदेश सभा स्तरिय भेलालाई सम्बोधन गर्न धनगढी पुगेका सभापति देउवाले सीमा विवाद तत्काल कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव पनि दिए।
भारतले हालै एकपक्षीय रुपमा लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतीय भूमिको रुपमा रहेको नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसबारे चर्को विरोध हुँदै आएको छ।