समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बिगतका सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको भन्दै यस्तो अबस्थामा सरकारमा बसिरहनुको कुनै अर्थ नहुने बताएका छन्।
राजधानीमा बिहीबारदेखि सुरु पार्टीको संघीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले सरकारले साझेदार दलको सामान्य मर्यादा समेत ख्याल नगरेकोप्रति तीब्र असन्तुष्टी जनाए। ‘यस्तो अबस्थामा सरकारमा हाम्रो पार्टीको संलग्नताबारे गम्भीर समीक्षा जरुरी छ’ उनले भने।
एकातिर संविधान संशोधनमा सरकारले चासो देखाएको छैन भने अर्कातिर प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने काम भएको भन्दै उनले एकपछि अर्को गल्ती गर्दै अघि बढेको सरकारबाट बाहिर निस्कने बिषयमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरी तत्काल अघि बढ्नुपर्नेमा जोड दिए।