उप-चुनावको चहलपहल बढेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दादागिरी देख्न थालिएको छ। दुईतिहाइको दम्भसँगै आफ्ना उत्शृंखल गतिविधि घटाउनुको साटो झन् बढाउँदै गएको देख्न सकिन्छ।
पछिल्लो उदाहरणका रुपमा अछामको घटना लिन सकिन्छ। चुनाव प्रचारका लागि भन्दै नेकपाले पढिरहेका विद्यार्थीलाई बाहिर निकालेर विद्यालय प्रांगणमै चुनावी सभा गरेका छन्। नेकपाले चुनावी सभा गरेपछि विद्यार्थीको पठाइ रोकिएको छ।
अछामको मेल्लेख गाउँपालिकास्थित जनता माविका विद्यार्थीले राजनीतिक दलले बुधबार विद्यालय प्रांगणमै कार्यक्रम गरेको भन्दै बिहीबार बिहान तालाबन्दी गरेर विरोध जनाएका हुन्। एकातिर नेकपाको चुनावी सभा र अर्कोतर्फ विद्यार्थीको तालाबन्दीले पठाइ स्वाभाविक रुपमै ठप्प रह्यो। यस्तै विद्यालयमा राजनीतिक कार्यक्रम गरेको विरोधमा विद्यार्थीले मेल्लेख बजारमा प्रदर्शनसमेत गरेका छन्। नेकपाले बुधबार विद्यालयमा चुनावीसभा गरेको थियो। जस कारण पढाइ प्रभावित बन्यो।
मेल्लेख गाउँपालिका ५, बिन्धेवासिनीमा मंसिर १४ गते उप-चुनाव हुँदै छ। मनोनयन दर्ताका दिन नेकपाले विद्यालय प्रांगणभित्रै चुनावी सभा आयोजना गरेको थियो। यसअघि पनि पटक–पटक नेकपाले विद्यालयमा कार्यक्रम गर्दै आएको विद्यार्थीको आरोप छ। केहीले त नेकपाको यो कदमलाई दादागिरीको संज्ञासमेत दिएका छन्।
यता नेकपाले भने सर्वदलीय बैठकमा सहमति भएरै विद्यालय प्रांगणमा कार्यक्रम गरेको दाबी गरेको छ। सहमति गरे पनि विद्यालय क्षेत्रभित्र कुनै पनि राजनीतिक क्रियाकलाप भने गर्न पाइँदैन।
प्रधानाध्यापक परमानन्द जोशीले तालाबन्दीका कारण बिहीबार पढाइ प्रभावित भएको बताए। विद्यालयभित्र राजनीतिक कार्यक्रम गर्नु निर्वाचन आचारसंहिताविपरीत कार्य हो।