नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएकाे छ ।
भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी कांग्रेस नेता डा नारायण खड्काले जानकारी दिए । भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी भएकाे थियाे ।
प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताउनुभएको डा खड्काले जानकारी दिए । उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिए । बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उहाँले खुशी व्यक्त गर्दै योगदान पुर्याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराएका थिए।
राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा रहेका छन् । बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौँको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ । मङ्गलबार आउनुभएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्कने छन् ।