राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा रहेको त्रुटि सच्याउन माग गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उक्त माग गरेको हो। भारतले हालै नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ।
बैठकले कालापानीलगायत नेपाली भूभाग संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ। ‘सुगौली सन्धिबाट कायम रहेको काली नदी पूर्वको नेपालको भूभाग समेतलाई समेट्ने गरी हालै भारतबाट एकतर्फी राजनीतिक नक्सा प्रकाशित गरिएको र त्यसबाट यसअघि नेपाल र भारत सरकारका बीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरीय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल–भारतबीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई राप्रपाले अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ राप्रपाको निर्णयमा भनिएको छ।
‘दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चित रूपमा दुवै देशको हितमा हुँदैन, भारतबाट प्रकाशित राजनीतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभाग संरक्षण गर्नका लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष राप्रपा जोडदार माग गर्दछ,’ राप्रपाले भनेको छ।