नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।
पोखरा महानगरपालिका १७, घारीपाटन क्षेत्रमा बुधबार आयोजित उप-चुनावको प्रचारका लागि घरदैलो कार्यक्रममा उनले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधि सच्याउँदै सही मार्गमा हिँडाउन उप-चुनावमा कांग्रेसको जित आवश्यक भएको बताए ।
कास्की क्षेत्र २ मा हुने प्रतिनिधिसभा सदस्यको उप-चुनावका लागि पार्टीका केन्द्रीय प्रतिनिधिसमेत तोकिएका नेता रिजालले पार्टीले लामो समयसम्म समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताए । उनले यस क्षेत्रको समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोधसमेत गरेका थिए ।
उम्मेदवार पौडेलले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउन भएको बताउँदै कास्की क्षेत्र २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे ।