नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले सीमा मिच्दा पनि राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली किन बाेलिरहेका छैनन् भनि आश्चर्य व्यक्त गरेका छन् ।
कालापानी नेपालकै भएको उल्लेख गर्दै उनले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गर्दा पनि प्रधानमन्त्री किन चुप लागेर बसेको भनि प्रश्न गरे?
तीन नम्बर प्रदेशका नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सरकारलाइ तत्काल वार्ता थाल्न सुझाव दिए। देउवाले भने- कालापानी हाम्रो हो,यसबारे मैले भारतमै गएर पनि बोलेको छु ।
गाउँगाउँमा अझै सडक बन्न नसकिरहेकाे भन्दै देउवाले रेल ल्याउने कुरा गर्दै हिँडेने प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरे।
सभापति देउवाले पार्टीकै वरिष्ठ नेतादेखि केन्द्रीय नेताहरुलाई नै प्रशिक्षण नपुगेको भनि असन्तुष्टि व्यक्त गरे ।नेताहरुले ‘माओवादी जनयुद्ध’ ‘कम्युनिष्टको दुई तिहाईको सरकार’ भनि दिएको अभिव्यक्तिबाट आक्रोसित बनेका सभापति देउवाले , ‘नेताहरुलाई नै अझै प्रशिक्षण नपुगेकाे बताएका हुन्।’
देउवाले कम्युनिष्ट पार्टीको सरकारमा दुई तिहाई नभएको र प्रधानमन्त्री ओलीले पनि त्यो दाबी गर्न नसकेको भन्दै कांग्रेसका नेताहरुले दुई तिहाई कि दुई तिहाई भनेर बढाई चढाई गरेको आरोप लगाए।
उनले पार्टीले चुनाव जित्नै पर्ने अवस्था रहेको भन्दै अब भाषणमा भन्दा चुनाव कसरी जित्ने भन्ने कुरामा ध्यान दिन सुझाव दिए।अहिलको कम्युनिष्ट नेतृत्वको सरकारले अख्तियार दुरुपयोग आयोगलाई शाही आयोगमा परिणत गर्न खोजिरहेको उनले आरोप लगाए।
नेपालको प्रजातन्त्र रक्षाका लागि फेरि पनि कांग्रेसले धेरै ठूलो लडाइ लड्न पर्ने अवस्था आएको भन्दै कार्यकर्तालाई प्रजातन्त्रको पक्षमा अडिग भएर तयारी अवस्थामा बस्न पनि आग्रह गरे।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले सिद्धान्तको ठेगान नभएका कम्युनिष्टबाट देश र जनताको हित नहुने दाबी गरे। नेपालका कम्युनिष्टहरुले कहिले नौलो जनवाद, कहिले बहुदलीय जनवाद त कहिले के भन्दै अहिले सी पथको विषयमा प्रशिक्षण दिन थालेको उनको आरोप थियो।
त्यसैगरी नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले अब पार्टीलाई वैचारिक, सैद्धान्तिक र राजनीतिक रुपमा सवल बनाउनु पर्ने अवस्था आएको बताए।
अहिलेको कम्युनिष्ट सत्ताधारी दलबाट संविधान, संघीयता र लोकतन्त्रलाई क्षतविक्षत पार्ने काम भइरहेको भन्दै निधिले कांग्रेसको सिद्धान्तले राजनीतिमा विजय हाँसिल गरे बताए ।देश संघीयतामा गइसकेकाे अवस्थामा पनि सरकारले सम्पूर्ण अधिकारहरु केन्द्रीकृत गरेर राज्यका सबै अंगलाई पंगु बनाएको निधिकाे अाराेप थियाे ।
महामन्त्री शशांक कोइरालाले अहिले राष्ट्र सबै भन्दा कम्जाेर र अत्यन्त अप्ठ्यारो अवस्थामा भएको बताए ।