बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकुडीले बंगलादेशका राष्ट्रपतिलाई सम्मान गारथ अर्पण गरेको थियो । हमिदले आजै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नेछन् । भक्तपुरबाट फर्केपछि उनीसँग साँझ ६ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
पछिल्लो पटक नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ । क्रिकेट खेलको ‘पावर हाउस’का समेत परिचित बङ्गलादेश लामो समुद्री तह भएकाले पनि पर्यटकीय रुपमा समेत आकर्षक गन्तव्य हो ।
राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीको सम्मानमा बुधबार साँझ राजकीय भोज आयोजना गर्नेछिन् । हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति हमिदसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला उनले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
३ दशकपछि नेपालको भ्रमणमा बंगलादेशी राष्ट्रपतिको आगमन भएको हो । दुई देशबीच द्विपक्षीय व्यापार आरम्भ भएको २३ वर्ष पुगेको छ । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुन: प्रवर्द्धन हुने बताइएको छ ।