नेपाली कांग्रेस कास्की २ को चुनावी प्रचार अभियानअन्तर्गत मंगलबार बिहानैदेखि उम्मेदवार खेमराज पौडेलसहितको टोली घरदैलोमा खटिएको छ। जीवनका ६ दशक राजनीतिमा बिताएका निष्ठावान नेतालाई चुनावी मैदानमा उतारेकोमा उक्त क्षेत्रका मतदाता उत्साही देखिएका छन्।
पोखरा २६, कात्तिक कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान नेतालाई उम्मेदवार वनाएको भन्दै खुशी प्रकट गरे । उम्मेदवारले पोखरा–७ का सबै टोलमा पुगेर मत मागेका थिए। उक्त अवसरमा पौडेलले पार्टीले दिएको जिम्मेवारी वहन गर्न आफू कुनै हालतमा पछि नपर्ने बताए ।
उनले यो चुनावमा अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरे । उनले देशमा २ तिहाईको सरकारले जनहितविपरित काम गरेको भन्दै निष्ठाको राजनीति सिकाउन पनि आफ्नो उम्मेदवारी भएको बताए । पछिल्लो समयमा नेपाली राजनीति बल मिच्याइँमा अघि बढेको बताउँदै उनले यसलाई सही बाटोमा ल्याउनु पर्ने स्पष्ट पारे
कांग्रेसले पोखरा–१७ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । उक्त कार्यालय संविधानसभा सदस्य राजु थापाले शुभारभ गरेका थिए । उक्त अवसरमा थापाले कांगे्रसको तर्फबाट उम्मेदवार बनेका खेमराज पौडेलले विपीकै पालामा पञ्चायत ढाल्नका लागि महत्वपूर्ण योगदान दिएको बताए । नेपाली कांग्रेसले यो चुनाव जित्दैमा सरकार परिवर्तन नहुने तर कडा प्रतिपक्षीको रुपमा उभिनका लागि सहयोग मिल्ने थापाले बताए। उनले वर्तमान सरकार काण्डै काण्डमा मुछिएको हुँदा यसपटक कांग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले कांग्रेस गणतन्त्र, प्रजातन्त्र र सम्पूर्ण राजनीतिक पार्टीको अविभावक भएका कारण पनि यसले आफ्नो लागि मात्र सोचेर नपुग्ने बताए । उनले माओवादीलाई जंगलबाट सिंहदरबारसम्मको यात्रामा ल्याउन कांग्रेसले खेलेको उल्लेखनीय भूमिका ज्वलन्त उदाहरणको रुपमा रहेको स्पष्ट पारे।
वडा सभापति सभापति देवराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सांसद लालकाजी गुरुङ, नेपाली कांग्रेस जिल्ला सहसचिव रंगिला आचार्य, वडाका उपसभापति दिपेन्द्र बराल, सहसचिव बिनम गुरुङ लगायतले बोलेका थिए। कार्यक्रममा वडा सभापति देवराज आचार्यको संयोजकत्वमा ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।