संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ?
नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यो सार्वजनिक नगरी थन्क्याइएको छ ।
नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ । लिम्पियाधुरामा तीनवटा गाउँ छन् । कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन् ।
काली नदीको मुहान् लिम्पियाधुरा हो । त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ । काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ । पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ । पार्वती कुण्डमा काली पानी मिसिन्छ । त्यहीं काली मन्दिर पनि छ । काली नदीलाई स्थानीयमा कुटी याङ्दी भनिन्छ। त्यहाँ सौका समुदायको बसोबास छ ।
सुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो । सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ । सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ । सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ ।
तर भारत लामो समयदेखि कालीवारि आएको छ । उसले लिम्पियाधुराबाट करिब ३० किलोमिटरपूर्व भारतीय सीमा सुरक्षा फौज राखेको छ । कालापानीभन्दा ३० किलोमिटर पश्चिमसम्म लिम्पियाधुरा छ । लिम्पियाधुरा मात्र होइन, कालापानी र लिपुलेक पनि भारतीय कब्जामा छ । कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजले नेपाल भएको पुष्टि गर्छ ।
नेपाल सरकारले २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । त्यतिबेला हालको दार्चुला (तत्कालीन बैतडी) जिल्लाअन्तर्गत थियो । तत्कालीन ब्यास गर्खा (दरा) मा ६ गाउँ थिए । २०११ को जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या चार सय ३४ तथा कुल जनसंख्या एक हजार आठ सय १६ देखाएको छ ।
अग्रज पत्रकार भैरव रिसालको नेतृत्वमा त्यस क्षेत्रमा २०१८ सालमा भएको जनगणनामा व्यास क्षेत्रका गुञ्जी, नाबी, कुटी, तिंकर र छाङ्रु गाउँको गणना गरिएको थियो। २०१८ सालयता लिम्पियाधुरामा नेपालको उपस्थिति शून्य छ । यो भूभागसहित त्यहाँका बासिन्दालाई भारतीय बनाइसकिएको छ । सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा लिम्पियाधुरा भएको सीमाविद् पुण्यप्रसाद ओलीले बताए । -अन्नपूर्ण पोस्ट