गृहमन्त्री रामबबहादुर थापाले लिम्पियाधुराबाट बग्ने कालीनदी नेपाल–भारतको सीमा भएको जनाउँदै सीमा क्षेत्रमा सुरक्षा बढाउन सुरक्षाचौकी १० किलोमिटरको दूरीमा रहने गरी विस्तार गर्न लागिएको बताएका छन् ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विदेशी भूमि एक इन्च चाहिदैन र आफ्नो भूमि पनि एक इन्च नछाड्ने बताए ।
कालापानी र सुस्तालगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको र यो समस्या साधानका लागि अहिले सिङ्गो राष्ट्र नै एक भएको बताए।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराबाट बग्ने काली नदिनै नेपाल–भारतको सीमा हो भन्नेबारेमा भारतले नै तयार गरेको नक्सा र अरु यथेष्ट प्रमाण नेपाल सरकारसँग सुरक्षित रहेका जानकारी गराइन् ।
यसअघि बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानीका विषयमा उठेका नकारात्मक विषयले सीमा सम्बन्धी राष्ट्रिय एकता र साझा धारणा बनाउन अनुकूलता प्रदान गरेको बताए ।
सभापति शशी श्रेष्ठले नेपालको स्वाभिमानसँग जोडिएको विषयलाई गम्भीरतापूर्वक लिएर छिटो समाधानका लागि पहल गर्न सरकारका प्रतिनिधिलाई सुझाव दिए । उक्त विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएकामा स्वास्थ्य समस्याकाकारण उपस्थित हुन नसकेको विषय बैठकमा जानकारी गराइएको थियो ।