अयोध्यामा मन्दिर र मस्जिद विवादमा सर्वोच्च अदालतको फैसलाप्रति पाकिस्तानले कडा प्रतिक्रिया जनाएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीटरमा ‘विश्वमा एकपटक फेरि अतिवादी भारतको असली रुप देखियो’ भनेका हुन्। उनले अगाडि भनेका छन्, ‘५ अगष्टमा कश्मीरलाई दिएको विशेष संवैधानिक अधिकार भारतले खोस्यो र अहिले बाबरी मस्जिदमाथि फैसला आयो। अर्कोतर्फ पाकिस्तानले अर्काे धर्मलाई आदर गर्दै गुरु नानकका सेवकका लागि करतारपुर करिडोर खोलिदिएको छ ।’
रेडियो पाकिस्तानका अनुसार अयोध्या फैसलाप्रति प्रतिक्रिया जनाउँदै पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले यसबाट मोदी सरकारको कट्टरता झल्कने बताएका छन्। उनले करतारपुर करिडोर खोलिएको दिन नै भारतको सर्वोच्च अदालतको यस्तो फैसला आउनुमा आश्चर्य पनि व्यक्त गरेका छन्। उनले भनेका छ्न, ‘भारतमा मुसलमान पहिलेदेखि नै दबाबमा छन्, यो फैसलाबाट अझ दबाब बढ्नेछ।’ यो फैसलाबाट भारतको धर्म निरपेक्षी छविको वास्तविकता सामुन्ने आएको उनको भनाइ छ।
भारतविरुद्ध बेला बेलामा विवादित अभिव्यक्ति दिँदै आएका पाकिस्तानी विज्ञान र प्रविधि मन्त्री चौधरी फवाद हुसेनले अयोध्याबारे सर्वोच्चको फैसला, लज्जास्पद, फाल्तु, अवैध र अनैतिक भनी टिप्पणी गरेका छन्।