समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिलाई सत्ता प्राप्ती र सत्ता सुखभोग गर्नेे आधारमात्र बनाउने प्रवृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको विमोचन गदै भट्टराईले राजनीतिलाई सत्ताप्राप्ती तथा आफ्नै स्वार्थसमूहको व्यवस्थापन गर्ने आधार बनाउने प्रवृति बढेको भन्दै समाज रुपान्तरणका लागि राजनीतिलाई उपयोग गर्नुपर्ने बताएका हुन् । समुन्नत संघीय समाजवाद निर्माणका लागी आफूहरु अघि बढेको भन्दै यसका लागि वैचारिक बहस सिर्जना गर्न आवश्यक रहेको जिकिर गरे । पूँजिवादलाई नै प्रश्रय दिने समाजवाद हिजोको दिनमा हावी भएको भन्दै भट्टराईले अब यसलाई बदल्नुपर्ने बताए ।
कार्यक्रममा पुस्तकका लेखक एवं समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले मधेसी, मुस्लिम, दलित र विपन्न भएकै कारण पछाडि पर्नुपर्ने सेवा, सुविधा र शिक्षाबाट वञ्चित हुनुपरेका अवस्था रहेको बताए । उनले संविधानमा समावेशी र समानताको लोकतन्त्र भनेर लेखिएपनि सम्पूर्ण जातजाति, वर्ग, र समुदायको सहभागिता नभएसम्म समावेशी र समानताको लोकतन्त्र हुनै नसक्ने उल्लेख गरे।
कार्यक्रममा बोल्दै नेकपाका नेता दिनानाथ शर्माले उपेन्द्र यादव, माओवादी जनयुद्धका सहयात्री र मधेस आन्दोलनका अगुवा भएको भन्दै विचार मिले भविष्यमा पुन एकै ठाँउमा हुन सक्ने सम्भावना रहेको बताए ।