नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारको कार्यशैलीका कारण मुलुक अप्ठेरोमा परेको बताएका छन्। भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गएको आरोप लगाए।
उनले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताउँदै कर र मुल्य बृद्धि तथा भ्रष्टाचारमा मुछिएर सरकारले जनतालाई मारमा पारेको आरोप लगाए।
नेकपा नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध जनताले जवाफ दिने बेला आएको उनको भनाइ थियो।
गुटउपगुटबाट माथि उठेर पार्टी एक हुनु जरुरी रहेको बताउँदै प्रवक्ता शर्माले अबको उपनिर्वाचनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एक भएर आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे।
उनले पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिंदै आगामी उपनिर्वाचन मिनी जनमत संग्रहजस्तै भएकाले जनमत कांग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर प्रदेश १ क मा कांग्रेसका कृष्णलाल भँडेलले उम्मेदवारी दिएका छन्।