आसन्न मंसिर १४ गने हुने उपचुनावमा जित हात पार्नका लागि बिभिन्न कम्युनिष्ट घटकसंग चुनाबी तालमेल गरेको सत्तासीन नेपाल कम्युनिष्ट पार्टीभित्र उम्मेद्वारी छनौटप्रति कतिसम्म असन्तुुष्टी बढेको रहेछ भन्ने कुरा बिभिन्न क्षेत्रमा परेको बागी उम्मेद्वारीले नै प्रष्ट पारेको छ।
कास्की र बाग्लुङमा राष्ट्रिय जनमोर्चासंग चुनाबी तालमेल गरेको नेकपाका आधिकारिक उम्मेद्वारबिरुद्ध बागी उम्मेद्वारी परेको छ भने भक्तपुरमा पार्टीभित्र टिकट बितरणका बिषयलाई लिएर भाँडभैलो शुरु भएको छ।
बाग्लुङ २ (ख) मा नेकपाका स्थानीय नेता शेरमान घर्ती मगरले बिद्रोह गर्दै वागी उम्मेदवारी दिएका छन्। वाम गठबन्धनको उम्मेद्वार छनौटप्रति असहमति जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।
सो क्षेत्रमा बामपन्थी दलहरुबीच चुनावी तालमेल भएपछि नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई समर्थन गरेको छ। राजमोका तर्फबाट खिमविक्रम शाहीले मनोनयन दर्ता गरेका छन्।
साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालीन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार भएका थिए। घर्तीको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल छन् भने समर्थक रिमबहादुर बिक छन्। गत स्थानीय चुनाबमा मगरले १४ सय मत पाएका थिए।
उता, कास्की २ मा पनि नेकपा नेताले विद्रोही उम्मेदवारी दिएका छन्। नेकपाकी आधिकारिक उम्मेदवार विद्या भट्टराईले मनोनयन दर्ता गर्नुअघि कमलजंग कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी नेकपाका दिबंगत नेता रबिन्द्र अधिकारीका साथीसमेत हुन्। सरकारी सेवाबाट कात्तिक १७ गतेदेखि अबकाश पाएका कुँवरले राजनीतिक दल, नेता र सरकारको नेतृत्वप्रति बितृष्णा पैदा भएकोले त्यसको बिकल्पमा आफ्नो प्रशासनिक र राजनीतिक अनुुभबका आधारमा उम्मेद्वारी दिएको बताएका छन्।
यता, भक्तपुर निर्बाचन क्षेत्र १ अन्तर्गत क प्रदेशबाट पर्यटक उम्मेद्वार बनाएको बिरोधमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन्। तत्कालीन माओदीका देविप्रसाद ढकाललाई उम्मेद्वार बनाएको बिरोधमा पूूर्ब एमाले समर्थकले तालाबनद गरेका हुन्।