परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन् ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताए ।
भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उनले भने, “कालापानी हाम्र्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।” मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताए ।
उनले भने, “पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।” भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उनले जानकारी गराए ।
बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको बताए । उनले भने, “भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।”