प्रतिनिधिसभा सदस्य निर्वाचनका कास्की क्षेत्र नम्बर २ मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ११ स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ ।
कास्की क्षेत्र २ को प्रतिनिधि सभा सदस्यका लागि नेकपाकी उम्मेद्वार विद्या भट्टराईले मनोनयन गरेकी छन् ।मनोनयनपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले विगतमा लामो समय राजनीतिमा क्रियाशील भएकै कारण अहिले आफू उम्मेदवार भएर आएको बताइन् । उनी मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम पनि बिस्फोट भएको थियो । बम बिस्फोट कसले गराएको हो भन्ने खुल्न नसके पनि भट्टराईले मनोनयन दर्ता भने गराएर फर्किइसकेकी छन् ।
मनोनयन दर्तामा भट्टराईका प्रस्तावक नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण थापा बसेका छन् । यस्तै भट्टराईको समर्थकमा प्रदेशसभा सदस्य प्रभा कोइराला रहेकी छन् ।
यहाँ नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेललाई अघि सारिएको छ भने राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसबाट पुराना नेता पौडेलले उम्मेदवारी दर्ता गराए । बाजागाजासहित मुख्य निर्वाचन कार्यालय पुगेका उनको प्रस्तावकमा शोभियतबहादुर अधिकारी र समर्थकमा देवराज चालिसे छन् । ढिलै भए पनि पार्टीले मूल्यांकन गरेर टिकट दिएकोमा खुसी प्रकट गर्दै आफूले जितेरै छाड्ने बताए ।