प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले बुधबार पदभार ग्रहण गरेका छन् । परियारलाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जनकपुरस्थित कार्यालयमा स्वागत गरेका थिए ।
बुद्ध एयरको बिहानको जहाजमा जनकपुर अवतरण गरेका प्रदेश प्रमुख परियारलाई विमानस्थलमै संघीय सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।
यादव र राउत प्रदेश प्रमुख परियार ओर्लिएकै जहाजबाट काठमाडौं जानेक्रममा विमानस्थलमै भेट भएको हो ।
‘मिथिलानगरी जनकपुरमा स्वागत छ,’ मन्त्री यादवले प्रदेश प्रमुख परियारलाई विमानस्थलमा स्वागत गर्दै भने । प्रदेश प्रमुख परियार पत्नी र सेनाको अंगरक्षकसहित जनकपुर पुगेका थिए । उनलाई विमानस्थलमा नेकपाका सांसद, नेता र नगर प्रमुखहरुले स्वागत गरे ।
पदभार ग्रहण गर्दै प्रमुख परियारले यहाँको सरकारसँग मिलेर अघि बढ्ने बताए । उनले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सरकारसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताए ।
आफू एउटा पार्टीबाट नियुक्त भए पनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए । ‘अब समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन,’ प्रदेश प्रमुख परियारले भने, 'अब समग्र देशका लागि काम गर्छु ।'
कात्तिक १८ गते प्रदेश २ प्रमुखमा नियुक्त भएका परियारले प्रदेशमा पारित हुने विधेयकको अध्ययन गरी प्रमाणित गरिने बताए ।