पूर्व मन्त्री एवं कांग्रेस सांसद आफताव आलमको रौतहट जिल्ला अदालतमा बयान लिने कार्य भाेलि पनि जारी रहने भएकाे छ । मंगलबारबाट शुरू भएकाे उनकाे बयान नसकिएपछि बुधबार(भाेलि) हुने भएको छ । अभियोगपत्रसहित पेश भएको मिसिल ८ सय १८ पृष्ठका भएकाले बयान सकिन समय लाग्ने बताए ।
न्यायाधीश दीपक ढकालको इजलासमा बयान लिइएको थियो ।बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।
सोमबार आलमलाई ३२ वर्ष कैद माग गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, बिस्फोटक पदार्थसम्बन्धी मुद्धा दर्ता गरिएको थियो । आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराई घाइते भएकालाई इँटाभट्टामा जलाएर कर्तव्य ज्यान मारेको आरोप लागेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी कसुरमा आजीवन काराबासको मागदाबी गर्दै अभियोग पत्र दायर गरेको थियो । यो मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेक अन्य सबै फरार छन् ।