जिल्ला प्रहरी कार्यालय रौतहटले बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर गर्दैछ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो। अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर गर्ने तयारी कार्यालयको छ।
आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीन वटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन प्रहरीले शुक्रबार नै पेस गरिसकेको छ। आलम बाहेक अन्य दस जना भने फरार छन्।
यसअघि पाँच जनाबिरुद्ध किटानी जाहेरी परेकोमा अहिले थप ६ सहित ११ जनाबिरुद्ध मुद्दा चलाउन राय दिएको रौतहट प्रहरीले जनाएको छ। प्रतिवेदनमा आलमले आफ्ना भाइलगायतसँग मिलेर विस्फोटमा घाइते भएका मानिसहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेको दाबी गरिएको छ।