आगामी मंसिरमा हुने उपचुनावका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बैतडीको दोगडाकेदार ४ मा उम्मेदवार टुंग्याएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका ४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको उनले बताए । छनोट भएका उम्मेदवार नेकपा दोगडाकेदार ४ का प्रस्तावित वडा कमिटी अध्यक्ष हुन् । उनी यसअघि पूर्वएमाले थिए ।
यस्तै बैठकले यही कात्तिक २० गते पीपलकोटमा चुनावी आमसभाको आयोजना गर्नेसमेत निर्णय गरेको छ । दोगडाकेदार गाउँपालिका ४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा आगामी मंसिर १४ मा उपचुनाव हुँदै छ ।
दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा उपचुनाव हुन लागेको हो । अन्य वडामा कुनै पनि पार्टीले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । उम्मेदवार छनोटका लागि विभिन्न पार्टीले आन्तरिक तयारीसमेत गरिरहेका छन् । -रासस