रौतहट जिल्ला अदालतले सामूहिक हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ ।
अदालतले आलमलाई थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको हो । दोस्रोपटक थपिएको ५ दिनको अवधि सकिए पनि अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले १० दिन थुनामै राखेर थप अनुसन्धान गर्न माग गरेको थियो । न्यायाधीश केशव पाण्डेको इजलासले आलममाथि अनुसन्धानका लागि ८ दिनको समय दिएको हो ।
गत असोज २५ मा रौतहटको राजपुरमा सेख इन्द्रिस गेटबाट आलमलाई प्रहरीले पक्राउ गरेको हो । राजपुर बमकाण्डका आरोपी आलम रौतहट क्षेत्र २ का कांग्रेस सांसद हुन् । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।