पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट ३५ किलोमिटर उत्तर छिरेपछि आउँछ सरुअठा गाउँ। मूलबाटोबाट करिब एक किलोमिटर पूर्व पसेपछि ७९ वर्षीय श्रीनारायण सिंहको घर पुगिन्छ। उमेरको उत्तरार्द्धमा श्रीनारायणसँग सुनाउनुपर्ने विगतका यादभन्दा रातोदिन बल्झिरहने दुःखको घाउ मात्रै छ।
उनको दुःखका कथा साविकको राजपुर फरहदवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ मा घटेको अकल्पनीय घटनाबाट सुरु हुन्छ। फिल्मको झल्को आउने त्यो घटनाको केन्द्रमा जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले भर्खरै पक्राउ गरेको छ। आलम पक्राउपछि श्रीनारायणलाई फेरि पुरानो दुःख, छोरा गुमाएपछिका छटपटीका दिन र न्यायका निम्ति १२ वर्ष लामो संघर्षको कथा सुनाउने मेसो मिलेको छ।
पहिलो संविधानसभा निर्वाचनको चहलपहलले देहाती गाउँको चहलपहल ह्वात्तै बढाइदिएको थियो। रौतहटको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट उम्मेदवार मोहम्मद आफताब आलमको चहलपहल पनि गरमागरम थियो। सीमावर्ती भारतको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा बीएस्सी पहिलो वर्षमा पढिरहेका श्रीनारायणका २२ वर्षीय छोरा त्रिलोक बिदामा घर आएका थिए।
राम्रो बोल्ने खुबी भएका उनलाई आलमको चुनावी प्रचारमा खटिएकाहरूले घरबाट हिँडाइहाले। त्यो दिनको सम्झना श्रीनारायणलाई झलझली छ। चुनावको २ साताअघि १८ चैतमै आलमका मान्छे आएर छोरालाई घरबाट लगिएको थियो। उनले सुनाए, ‘छोरालाई चुनावी प्रचारमा लिएर गएछन् भन्ने थाहा पाएपछि नै मेरो मन थिरमा थिएन।’
श्रीनारायणलाई बम विस्फोटको घटनाभन्दा विस्फोटपछि भएका घटना लुकाउन भएका आततायी गतिविधिले मन भतभती पोलेको छ। उनले घटनाका प्रत्यक्षदर्शी र अन्य गाउँलेबाट थाहा पाए, चुनावको दिन बुथ कब्जा गर्ने उद्देश्यले आलमको सहोदर काका एवं कांग्रेस नेता पूर्वमन्त्री शेख इद्रिसको फरहदवा राजपुरस्थित गोठमा बम बनाउने काम चलिरहेको थियो।
प्रहरीका अनुसार आलमका अंगरक्षकको काम गर्ने बलरु भन्ने शेख सराजले सल्काएको चुरोट हातबाट खसेलगत्तै ठूलो आवाजमा धूवाँको मुस्लोसहित बम विस्फोट भएको थियो। प्रहरीका अनुसार घटनापछि सराज सार्वजनिक वृत्तमा देखिएका छैनन्। थप खबर कान्तिपुरमा छ।