कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले दलहरुले आफनो राजनीतिक चरित्र र सँस्कार बिर्सदै गएको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर ६ ख ले विराटनगरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक संस्कार विना लोकतन्त्र बलियो नहुने भन्दै दलहरुले आफूलाई सुधार गर्दै जानुपर्नेमा जोड दिए।
उनले संघीयता बलियो बनाउन दलहरुबीच एकता आवश्यक रहेको पनि बताए। मुख्यदलको सहकार्यमा मुलुकमा संविधान र संघियता स्थापित भएकाले यसलाई सही रुपमा कार्यान्वयन गर्न पनि सहकार्य जरुरी रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले मुलुकको आर्थिक, सामाजिक विकासका लागि कांग्रेस जिम्मेवार हुनुपर्ने बताए। उनले आस्था, विचार जे भएपनि मुलुक निमार्ण गर्ने एजेन्डामा सबै दल मिलेर लाग्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा विराटनर महानगरपालिकाका प्रमुख भीम पराजुली, कांग्रेस नेता अशोक कोइराला, प्रदेस सांसद केदार कार्की, तथा जितेन्द्र गोल्छाले शुभकामना दिएका थिए।