प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमै रिहा भएका छन् । जिल्ला अदालत धनुषाले शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका हुन् ।
बुद्ध एयरको काउन्टर तोडफोड आरोपमा उनीविरुद्ध परेको मुद्दामाथि न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहा गर्न आदेश दिएका थिए ।
साहविरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो । काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । प्रहरीले उनलाई मंगलबार पक्राउ गरी जनकपुर ल्याएको थियो ।
जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै प्रहरीलाई बुधबार ४ दिनको म्याद दिएको थियो । म्याद सकिन दुई दिन बाँकी छँदै जिल्ला प्रहरी कार्यालय, धनुषाले तोडफोड मामिलामा सबै अनुसन्धान सकेको छ । प्रहरीले बुझाएको अनुसन्धानको फाइल र सांसद साहसित लिइएको बयानलाई आधार बनाएर बिहीबार अदालतमा मुद्दा पेस गरिएको थियो ।