नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेका स्थानीय तहमा ओली सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको भन्दै त्यस्ता कर्मचारीलाई लखेट्नु पर्ने बताएका छन्।
‘ओली सरकारले कांग्रेसले जितेका स्थानीय तहमा छानीछानी पार्टीका झण्डा बोक्ने कर्मचारी खटाएर दुःख दिएको कुरा हाम्रो जानकारीमा आएको छ’ सभापति देउवाले भने ‘जनताले तिरेको करबाट तलब खाने अनि जनताको पक्षमा काम गर्न खोज्ने जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीलाई लखेट्नै पर्छ।’ सभापति देउवाले त्यस्ता कर्मचारीको एक–एक गरेर हिसाब राख्ने पनि चेतावनी दिए।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख,गाउँपालिकाका सभापति÷निर्बाचित अध्यक्ष÷उपाध्यक्षका लागि भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्टले जितेका स्थानीय तहमा तिनका कार्यकर्ताले लुट मच्चाएको आरोप लगाए। यस्तो बेलामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताका पक्षमा राम्रो काम गरेर उदाहरणीय बन्न उनले निर्देशन दिए।
कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना अक्षमता ढाकछोप गर्न खोज्ने ओली सरकारलाई नालायकको संज्ञा दिए। सरकारका अक्षमतालाई ढाकछोप गरेर प्रशस्ती गाउनु पर्ने प्रधानमन्त्रीको सोच नै अधिनायकवादी चरित्र भएको नेता पौडेलले आरोप लगाए। उनले तल्लो तहको अधिकार कुण्ठित गरेर सरकार अधिनायकबादको सिंढी उक्लन खोजेको भन्दै कम्युनिष्टहरु सत्तामा आएपछि जनतामा बढको निराशालाई कांग्रेसले आशामा परिणत गर्नुपर्नेमा जोड दिए।
प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्म र भावना विपरित सरकारले तल्लो तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए। उपसभापति निधिले परिवर्तनका एजेण्डालाई वर्तमान सरकारले आत्मसात गर्न नसकेको भन्दै सरकार संविधान र संघीयतालाई कमजोर बनाउने खेलमा लागेको बताए।
महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारले संविधानमाथि थिचोमिचो गरेर सर्बसत्ताबाद लाद्न खोजेको भन्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने मूल दायित्व कांग्रेसकै भएको उल्लेख गरे। उनले रेल र पानी जहाजको सपना बाड्ने सरकारसंग तल्लो तहका जनताको जीवनस्तर सुधार्ने कुनै योजना नभएको आरोप लगाए।
पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको सरकारले कम्युनिष्ट शासन व्यबस्था भएका मुलुकलाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक मुलुकप्रति भेदभाब गरेको आरोप लगाए। उनले वर्तमान सरकार संविधान तोडमोड गरेर सर्बसत्ताबाद लाद्न उद्यत रहेको बताए। ‘प्रहरी, प्रशासन, निजामति कर्मचारीमा कब्जा गर्ने अनि अदालतलाई धम्क्याउने र प्रेसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुले ओली सरकारको अन्तिम लक्ष्य सर्बसत्ताबाद नै भएको प्रष्ट हुन्छ’ सिटौलाले भने।