नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ता बिनासर्त रिहा नगरे कडा प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनीसमेत दिएका छन् ।
‘क्रान्तिकारीहरुमाथि दमन गर्नेहरु नै अन्तिममा खरानी हुनेछन्,’ उनले विज्ञप्तिमार्फत चेतावनी दिँदै भनेका छन् ।
विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित नेता कार्यकर्ता गिराफ्तार गरेकोमा आपत्ति जनाउँदै रिहाइको माग गरेका हुन् ।
असोज ३० गते राति जारी विज्ञप्तिमा भनिएको छ, ‘गएराति केपी वलीको फाँसिवादी सरकारले हाम्रो पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कमरेड वीरजंग, राप्ती ब्युरो इन्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको छ । उक्त सामाजिक फासिवादी गिफ्तारीको पार्टी घोर विरोध एवं भर्त्सना गर्दछ ।’
विप्लवले जारी गरेको विज्ञप्ति