गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि हिजो (बिहीबार) भएको निर्वाचनमा कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा निर्वाचित भएका हुन्। पन्तले १२१७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी आचार्यले १०७० मत प्राप्त गरे।
उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, मन केसी र सोनामा लामा निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएकी छन्। महासचिवमा पन्त समूहका हेमराज शर्मा चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ तथा सचिवमा गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। जोशी आचार्य समूहका हुन्। सह(कोषाध्यक्षमा आचार्य समूहबाटै लोक दाहाल निर्वाचित भएका छन्।
महिला संयोजकमा भोमादेवी लिम्बु र युवा संयोजकमा हिमाल गुरुङ निर्वाचित भएका छन्। क्षेत्रीय संयोजक (अफ्रिका) मा रोशन थापा निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए। उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन्।
गोरखा फुजेलका स्थायी बासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन्। उनी यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष रहिसकेका थिए।