कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ।
सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामुख बनाउने गरी पार्टीमा छलफल सुरु भएको जनाइएको छ। संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि तत्कालीन सभामुख महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त भएको हो।
नेपालको संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने प्रावधान छ। सुरुमा सभामुख र उपसभामुख नियुक्त हुँदा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै दल थियो तर अहिले दुई दल मिलेर नेकपा भएपछि सभामुख र उपसभामुख कसरी बाँडफाँट गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए।
उपसभामुख पनि नेकपाकै रहेकाले के गर्ने विषयमा पार्टीभित्र परामर्श भइरहेको छ। उपसभामुखलाई राजीनामा दिन लगाएर सो पद अर्को दललाई दिने र सभामुख नेकपाले लिने भन्ने विषयमा पनि नेकपाभित्र छलफल भइरहेको कतिपय नेताको भनाइ छ।
तत्कालीन अवस्थामा माओवादी केन्द्रका तर्फबाट महरा सभामुख र एमालेका तर्फबाट शिवमाया तुम्बाहाङ्फे उपसभामुख बनेका थिए। नियुक्त हुने नयाँ सभामुख पनि तत्कालीन माओवादी केन्द्रकै तर्फबाट हुनपर्ने पार्टीमा दबाब छ। तत्कालीन एमालेले पनि सभामुखका लागि दाबी गरिरहेको छ। यी विषयमा पार्टीभित्र आन्तरिक छलफल भए पनि नेताहरूले कुनै कुरा बाहिर ल्याउनुभएको छैन।
सचिवालय सदस्य झलनाथ खनालले सभामुखका बारेमा पार्टीमा औपचारिक छलफल सुरु नभएको दाबी गरेका छन्। गाेरखापत्रमा खबर छ।