सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने बताएका छन् ।
रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उनले नेकपाले सभामुखमा दाबी गर्ने पनि बताए । संविधानमा भएको व्यवस्थाबमोजिम सभामुख र उपसभामुखको निर्वाचन गर्ने र सकेसम्म सहमतिको प्रयास हुने उनले बताए ।
पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रुपमा सफल भएको प्रतिक्रिया दिए । शर्माले नेपालको विकास र समृद्धिमा चीनले सुरुदेखि नै सहयोग र टेवा पुर्याउँदै आएको पनि बताए। नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालको जलविद्युतको विकासमा पनि भारत, चीन र नेपालको लगानी हुनुपर्ने कुरा उठाएको शर्माले जानकारी दिए । पछिल्लो समय नेपाल–भारत र नेपाल–चीनबीच भएका द्धिपक्षीय सम्झौताहरु पनि समयसिमाभित्रै कार्यान्वयनतर्फ अघि बढिरहेको उनको दावी छ ।
साक्षात्कारमा काग्रेसका नेता मोहन बस्नेतले वर्तमान सरकारले परराष्ट्र नीति कमजोर पारेको बताए । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको धारणा पनि व्यक्त गरे ।
नेता बस्नेतले सरकार कति सफल वा कति असफल भनेर आफूहरुले भन्नुभन्दापनि नेकपाकै प्रभावशाली नेताहरुले यसबारेमा बोलिसकेको बताउँदै सरकार असफल भएको आरोप लगाए।उनले सरकारले जनतालाई निराश बनाएको बताउँदै ओढे कुरा र उखान टुक्काले देश नचल्ने भन्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरे ।