पछिल्लो दुई सातादेखि नेपालका मूलधारका सञ्चार माध्यममा निर्बाचित जनप्रतिनिधिका अनुहार पोतिएका समाचार एकपछि अर्को सार्बजनिक भएका छन्। तीमध्ये कतिपय सांसद त अन्तर्राष्ट्रिय सञ्चार माध्यमका हेडलाइनसमेत बने। जनप्रतिनिधिका त्यस्ता घृणित क्रियाकलापले तिनलाई भोट हालेर जिताएका मतदातालाई नै लज्जित तुल्याएको छ।
निर्बाचित जनप्रतिनिधिको सर्वोच्च निकाय संसदमा पुगेर समाजमा भएका अन्याय, अत्याचार र विकृतिविरुद्ध दह्रो आवाज उठाउनुपर्ने सांसदहरू नै बलात्कार, हत्या, भ्रष्टाचार, ज्यान मार्ने उद्योग जस्ता अपराधजन्य काममा संलग्न भएको पाइएको छ। अपराधजन्य त्यस्ता काममा संलग्न भएको आरोपमा संसद सचिवालयले पाँच सांसदलाई निलम्बन गरिसकेको छ। यसरी निलम्बनमा पर्नेमा तत्कालीन सभामुख कृष्णबहादुर महरादेखि नेकपा, नेपाली कांग्रेस, संघीय समाजबादी पार्टी नेपाल र राजपाका सांसदसमेत छन्।
राजपाका रेशमलाल चौधरी टीकापुर घटनाको आरोपमा दुई बर्षअघि नै पक्राउ परेका हुन् भने कृष्णबहादुर महरा संसद सचिवलायकी कर्मचारीमाथि जबरजस्तीकरणीको आरोपमा असोज १९ मा पक्राउ परेका हुन्। कांग्रेस सांसद मोहम्मद अफताब आलम २०६४ को निर्वाचनमा रौतटहमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।
बुद्ध एयरको जनकपुरस्थित कार्यालय तोडफोडको आरोपमा गत मंगलबार राजपाका सांसद प्रमोद साह पक्राउ परेका हुन्। ज्यान मार्ने उद्योगमा नेकपाका सांसद पार्वत गुरुङलाई फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ। संघीय समाजबादी पार्टी नेपालका सांसद हरिनारायण चौधरी पुल निर्माणमा अनियमितता गरेको अभियोगमा निलम्बनमा परेका छन्।
बलात्कार आरोपमा महरा
संसद् सचिवालयमा कार्यरती एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका हुन्। पक्राउ लगत्तै उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
बम बिस्फोटमा अफताब
२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा कांग्रेस सांसद अफताब आलम पक्राउ परेका हुन्। आलम प्रतिनिधिसभा निर्वाचन २०७४ मा रौतहट २ बाट निर्वाचित भएका थिए।
तोडफोडमा प्रमोद
सर्लाही १ बाट निर्वाचित प्रमोद साह तोडफोड आरोपमा पक्राउ परेका छन्। जनकपुर विमानस्थलस्थित बुद्ध एअरको काउन्टरमा तोडफोड गरेको आरोपमा उनलाई गत मंगलबार पक्राउ गरिएको हो।
ज्यान मार्ने उद्योगमा गुरुङ
पार्बत गुरुङ दोलखा १ बाट निर्वाचित सांसद हुन्। २०७४ वैशाखको स्थानीय चुनावपछि दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै खड्काले काठमाडौं प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो।
भ्रष्टाचारमा पप्पु
पर्सा ३ बाट निर्वाचित हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका मालिक हुन्। रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल निर्माणमा अनियमितता गरेको अभियोगमा १९ असोज २०७५ मा विशेष अदालतमा मुद्दा दायर गरेपछि भ्रष्टाचार निवारण ऐन २०४९ बमोजिम उनी निलम्बनमा परेका हुन्।
टीकापुर घटनामा रेशमलाल
रेशम चौधरी कैलाली १ बाट निर्वाचत भएका सांसद हुन्। अदालतले टीकापुर घटनामा संलग्न भएको ठहर गरेपछि चौधरी थुनामा छन्। जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला गरेको छ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभाका ६ जना सांसद त निलम्बनमा परिसकेका छन्। अदालतबाट सफाई नपाएसम्म उनीहरू संसदीय प्रक्रियामा सहभागी हुन पाउने छैनन्। संसद सचिवालयले उनीहरूको सेवा, सुविधासमेत रोक्का गरिसकेको छ।