सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा कम्युनिस्ट पार्टीजस्तो नभएकोले त्यसलाई कम्युनिस्ट पार्टी जस्तो बनाउन एकपटक आन्दोलन गर्नुपर्ने बताएका छन्।
गृहजिल्ला चितवनमा बिहीबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले भने ‘हामी जीवनको उत्तरार्द्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ।’
यस उद्धेश्यमा सबैको साथको उनले अपेक्षा गरे। अध्यक्ष दाहालले नेता र पार्टीमा अलिअलि धुलोमैलो लागेको भन्दै त्यसलाई हटाउनु पर्ने आबश्यकतामा जोड दिए।क्यान्सर जस्तो उपचार नै नहुने रोग नलागेको भन्दै उनले बेलैमा उपचार गरेमा त्यसलाई हटाउन सकिने बताए। यसका लागि पार्टीभित्र समीक्षाको जरुरी रहेको उनको भनाई थियो।
सत्तामा पुगेपछि कम्युनिस्टहरूले आफ्नो दायित्व बिर्सदै जाने गरेको उनले स्मरण गराए। अध्यक्ष दाहालले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएकोमा चिन्ता व्यक्त गरे।