गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावी रौनकका बीच अध्यक्षका प्रत्यासीका समर्थकबीच सम्मेलनस्थल हायात होटलमा नाराबाजी भएको छ।
अध्यक्षका प्रत्यासीहरु कुल आचार्य र कुमार पन्तका समर्थकहरुले दिउँसो हायात होटल परिसरमा आ–आफ्ना पक्षमा नाराबाजी र हुटिङ गरेका थिए। उनीहरुले आ–आफना उम्मेदवारहरुलाई काँधमा बोकेर डुलाउँदै नाराबाजी गरेका थिए।
यसअघि मतदाता नामावलीमा सचिवालयले धाँधली गरेको भन्दै निर्वाचन समितिमा उजुरी परेपछि केहीबेर चुनावी प्रक्रिया अन्योलमा परेको थियो।
गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले छानबिनका लागि उजुरी दर्ता गराएका थिए।
उजुरीमा उनले छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरेका थिए।
‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३।१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा उनले भनेका थिए।
गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख थियो।
एनआरएनए अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ। केसी पन्तको प्यानलबाट उपाध्यक्षका उम्मेदवार हुन्।
र, यो पनि
एनआरएन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी, चुनावी प्रक्रिया नै अन्योलमा