सत्तारुढ दल नेकपाले मंसिर १४ मा हुन लागेको उप निर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवार सिफारिस गर्न पार्टी मातहतका कमिटीलाई निर्देशन दिएको छ।
नेकपाका आज बसकेको सचिवालय बैठकले मंसिर १४ गते देशका विभिन्न क्षेत्रमा हुन लागेको उप निर्वाचनका लागि नेर्वाचन हुने क्षेत्रका कमिटी र जिल्ला कमिटीलाई तीन–तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको हो।
ती कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरेपछि अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
जहाँ निर्वाचन क्षेत्रीय कमिटी बनेको छैन, त्यहाँ जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न भनिएको पनि प्रवक्ता श्रेष्ठले बताए।
यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ। वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यसैबीच, नेकपाले संगठन विभागमा तीन जना थप गरेको छ। आज बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको हो।