राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि म्यानमारको चारदिने राजकीय भ्रमण गर्दै छिन्। भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन्। उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन्।
राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्मारका राष्ट्रपति मिन्टले राजकीय भोजको आयोजना गर्नेछन्। म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ।
यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन्। राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयबाट सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्नेछ। दक्षिण एशियाको नेपाल र दक्षिणपूर्वी एशियामा पर्ने म्यान्मार र दुवै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिम्स्टेक)का सदस्य हुन्।