जिल्ला अदालत काठमाडौंले बलात्कारकाे अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश दीपककुमार दाहालको इजलासले संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारी(राेशनी शाही)माथि बलात्कारको प्रयास गरेको अभियोग लागेका महरामाथि थप अनुसन्धानका लागि म्याद थप गरेकाे हाे ।
महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धान अझै जारी नै रहेकाले म्याद थपका लागि आज(मंगलबार) उनलाइ अदालत लगिएकाे थियाे ।दसैं बिदा परेकोले आज मात्र उनलाई अदालत उपस्थित गराइएको हो।
यो तीन दिनमा पनि बयान नसकिए फेरि म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराइने छ।महरा यस अघि दस दिन हिरासतमा बसिसकेका छन्।
प्रहरीले महराविरूद्ध बलात्कार गर्न खोजेको आरोप लगाएकी कर्मचारीको कोठाबाट बरामद भएका महराका चस्मा, जुत्ताको तलुवा लगायतका सामग्री परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट भने आउन बाँकी छ।