प्रधानमन्त्री केपी ओलीले छिमेकी चीन र भारतको उपनिवेशको बीचमा रहेको नेपालले त्यसबाट उम्किन लामो प्रयास गरेको बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरु ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’को उद्घाटन कार्यक्रममा उनले उपनिवेशबाट उम्किन पुर्खाले आफ्नो जीवनै समर्पित गरेको बताए ।
उनले पछिल्लो पुस्तासम्म आइपुग्दा नेपाल नयाँ ढंगले अघि बढ्न खोजिरहेको बताए । चीन र दक्षिण एसियाली देशबीच साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य रहँदै आएको बताउँदै ओलीले नृत्य, संगीत, वाद्यवादन, धुन, छन्द र साहित्यमा विम्बको प्रयोग एसियाको विशेषता रहेको बताए ।
उनले नेपाली समाजमा शिष्टता र मर्यादाका पर्खालहरु भत्किदै गएकोप्रति दुःख व्यक्त गरे । जसको उदाहरणका लागि उनले मिडियामा प्रयोग हुने भाषालाई संकेत गरे। ‘पत्रकारहरुले आफ्नै बाबुलाई पनि तपाईं भन्दैनन् । यो एउटा ट्रेन्ड हो । अमेरिकाको यू शब्दको लोभले, डलरवालाले यूले काम चलाउँछन् हामीले किन काम नचलाउने भन्ने भ्रम छ । सामाजिक भाषा, सभ्यता, मान-सम्मानको प्रचलन हुन्छ र हामी त्यो बिर्सिन खोज्दै छौँ,’ उनले भने ।
'सामाजिक सञ्जालले सभ्यताको पर्खाल भत्काएका छन्,' ओलीले भने, 'सञ्चारमाध्यमले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएका छन् ।' ६ दिन चल्ने सम्मेलनमा चीनसहित दक्षिण एसियाका सात देशको सहभागिता छ ।