सरकारले मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरू सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्ववैंकले प्रदान गर्ने २ अर्व ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने, विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने लगायत निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । उनले चिनियाँ राष्ट्रपति सिजिनपिङको २ दिने ऐतिहासिक नेपाल भ्रमण सफल बनाउन सरकाका सबै अंग लागि परेको बताए ।
उनले पूर्व प्रधानमन्त्रीहरु, प्रमुख प्रतीक्ष दलका नेताहरु लगायतले दिएको सुझावलाई सीको भ्रमणका वेला आत्मसात गर्दै छलफल गर्ने बताए । दुई देशबीचकाे आपसी हितका विषयमा गहन रुपमा छलफल गरी अगाडि बढने मन्त्री बास्कोटाले जानकारी दिए ।
यस्तो छ मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय :
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।
३. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।
४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।
५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।
६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।