समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कृष्णबहादुर महरा काण्डमा उच्चस्तरीय स्वतन्त्र, निष्पक्ष छानबीन गर्न माग गरेका छन्।
आज सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै उनले घटना भएको ५ दिनसम्म पनि कुनै छानबीन प्रक्रिया सुरु नभएको भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन माग गरेका हुन्।
उनले लोकतन्त्रको सबैभन्दा गरिमामय पद सभामुख जोडिएको गम्भीर मुद्दालाई सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न नमिल्ने पनि बताएका छन्।
उनले २ वटा सृङखलाबद्ध ट्वीट गरेर भनेका छन्, ‘५ दिनसम्म यसबारे किन कुनै छानबीन प्रक्रिया सुरु भएको छैन? दुई तिहाईको सरकार किन कुम्भकर्णे निद्रामा छ ? छिटो उच्चस्तरीय स्वतन्त्र,निष्पक्ष छानबीन होस् र कानुनी प्रक्रिया अघि बढोस्। महराले त्यसमा पूर्ण सहयोग गरून्। नत्र जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गरौं। लोकतन्त्रको रक्षा गरौं।
लोकतन्त्रमा सबभन्दा गरिमामय पद प्रतिनिधिसभाको सभामुख हो।अपराधमा सबभन्दा निकृष्ट बलात्कार हो। यी दुइ जोडिएको गम्भीर मुद्दालाई सच्चा लोकतन्त्रमा त्यत्तिकै सार्वजनिक आरोप–प्रत्यारोप गरेर वातावरण धमिल्याउन र धमिलो पानीमा माछा मार्न वा सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न मिल्दैन ।