नेकपाका महासचिव विष्णु पौडेलले फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्थामा कुनै असर नपुग्ने बताएका छन् ।
उनले भने–‘अहिले बजारमा केही फट्याङ्ग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोसिस गरिरहेका छन्,’ बुटवलमा बिहबिार नेकपा बुटवल नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले भने, ‘फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिर्वतन सम्भव छैन । यो त जनताको संघर्षबाट स्थापना भएको व्यवस्था हो ।’
‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता हामीले ल्याएको व्यवस्था हो । राजा महाराजाले उपहार दिएका होइनन् । कसैको कृपा होइन । यो व्यवस्था कसैले चाहँदैमा परिर्वत हुँदैन, कोही उफ्रिँदैमा केही हुँदैन,’ उनले भने ।
रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व अर्थमन्त्री पौडेलले संघर्षको परिणामबाट बनेको व्यवस्था र संविधानलाई केही व्यक्तिले चाहँदैमा परिवर्तन सम्भव नभएको दावी गरे । ‘नेपालको नयाँ संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको छ । हाम्रो संविधान संसारका जुनसुकै देशको भन्दा कमसल छैन । सबै दृष्टिले उपयुक्त छ,’ उनले भने ।
यस क्षेत्रको विकास निर्माणमा लागि आफू सधै सबै राजनीति दलसँग सहकार्य गरेर अगाडि बढेको बताए । अहिलेको सरकार विकासमा सही र सन्तुलित नीति अगाडि सारेको बताए । उनले सरकारको मूल्यांकन जनताले निर्वाचनबाट गर्ने बताए ।
पौडेलले यस वर्ष बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण गर्ने सुरूङ मार्गको डीपीआर हुने दवी समेत गरे । रुपन्देहीका ठूला विकास निर्माणका आयोजना अगाडि बढेको भन्दै यी आयोजनाहरू सफल बनाउन सबै मिल्नुपर्ने बताए ।
कार्यक्रममा ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, नेकपा रुपन्देहीका अध्यक्ष शिव सुवेदी, जिल्ला समन्व्य समितिका सभापति एकराज विक, राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराई, प्रदेशसभा सदस्य दधिराम न्यौपाने लगायतले बोलेका थिए ।