नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डीना उपाध्यायले संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यबहारको आरोप लागेका कृष्णबहादुर महरालाई सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएकी छन्।
महिला कर्मचारीले आफूमाथि यौन दुुव्र्यबहार भएको भनेर सञ्चार माध्यममा दिएको अभिव्यक्तिपछि महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट भने राजीनामा दिएका छैनन्। कांग्रेस नेतृ उपाध्याय भन्छिन्‘ सत्तासीन नेकपाले महिला हिंसाको घटनामा मुछिएका महरालाई तत्काल सांसद पदबाटमात्र नभई पार्टीबाट समेत निलम्बन गर्नुपर्दछ।’
महिला मुक्तिका लागि संघर्ष गरेको दाबी गर्ने दलका नेताहरुका यस्ता गतिबिधिलाई कानून अनुसार कार्बाही गर्न ढिलाई गर्न नहुने उनको भनाई छ। स्पेसखबरसंग कुरा गर्दै नेतृ उपाध्यायले कानून अनुसार कार्बाही नगर्ने हो भने भोलिका दिनमा झनै यस्ता बिकृति बढ्ने बताइन्। घटनाको पर्सिपल्ट समाचार सार्बजनिक भएपछि महिलामाथि दबाब दिएर बयान फेर्न बाध्य पारिएको घटनाप्रति आपत्ति जनाउँदै उनले अघिल्लो दिन पीडित महिलाले गरेको टेलिफोन कुराकानीको रेकर्ड टेलिकमबाट झिकाएर हेर्नुुपर्ने कांग्रेस नेतृ उपाध्यायको भनाई छ।
सत्तासीन नेकपाका नेतृहरु यो प्रकरणमा मौन बस्नुलाई भने उनले अनौठो भनेकी छन्। ‘आफ्नै पार्टीका नेता यौन दुव्र्यबहारको प्रकरणमा मुँछिदासमेत नेकपाका नेतृहरु किन चुप लागेर बस्नुभएको छ’ भन्ने प्रश्न गर्दै कांग्रेस नेतृ उपाध्यायले पार्टीबाट निलम्बनका लागि दबाब दिनुपर्नेमा जोड दिइन्।
यस्तो घटनामा संलग्न महरालाई कानुनी दायरमा ल्याउन सरकारले कत्ति पनि ढिलाई गर्न नुहने भन्दै उनले कानूनी कार्बाही गर्नुपर्ने बताइन्।