संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि बाध्य भएर सभामुख कृष्णबहादुर महराले राजीनामा दिए। महराको राजीनामाले सबैलाई मोहरा बनाएको छ।
उपसभामुखलाई दिइएको राजीनामामा महराले मोहरा बनाउँदै लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि।’ यस्तो जग हसाउने व्यवहोरा। महराको बह्मज्ञानले यत्ति नै भेट्यो या उनका सल्लाहकारले झनै दलदलमा फसाइदिए बुझ्न गाह्रो छैन। महराले सभामुख पदबाट मात्र राजीनामा दिए, त्यो पनि अवधि तोक्दै।
बडो अचम्म आइतबारको घटना सोमबार सार्वजनिक भयो। मंगलबार महराले आफ्नै अनुहारमा कालो पोते। सर्वत्र आलोचित बने अनि दिए राजीनामा। विकल्प पनि त थिएन। त्यसपछि त दुनियाँलाई मोहरा बनाउने तयारी थाले। आसेपासेलाई परिचालित गराए। राजनीतिकको तुजुक पनि प्रदर्शन गरे।
मंगलबार साँझ एकाएक एउटा भिडियो भाइरल भयो। एक अनलाइनमा तिनै महराले बलात्कार गरेको भनिएकी रोशनी शाहीको अन्तर्वार्ता आयो। रोशनी त पूरै १८० डिग्री फन्को मारिसकेकी थिइन्। महराकै ग्रयान्डडिजाइनमा उनले बोली फेरिन्। महराकै बोलीमा लोली मिलाउन खोजिन्। तर कहाँ हुन्थ्यो। ओपन सेक्रेट भइसकेको कुरा जति ढाँटेर बोले पनि जनता कसरी पत्याउनु। उनले महरालाई बाबु समान पनि भन्न भ्याइन्। आफूलाई बलात्कार गरेको भन्दै सभामुख महराको राजनीतिक जीवनै ध्वस्त हुने गरी दिएको अभिव्यक्ति दबाबमा थियो या प्रलोभनमा यो भने अनुसन्धानपछि नै पत्तो लाग्ला। भोलिपल्ट यानि मंगलबार साँझतिर रोशनीले महरा आफूकहाँ नआएको भन्ने दिइएको अभिव्यक्तिले महराको ल्याकतलाई झन् प्रस्टयाउँ छ।
महरा यस्तै काण्डै-काण्डमा रमाउने व्यक्ति मानिन्छन्। पावर प्वाइन्टमै सधैं रहन्छन्। ०६२/६३ को आन्दोलनपछि उनको शक्ति यति चुलियो कि उनीभन्दा सिनियरहरु पनि निकै पछाडि पुगे। सधैं सत्ताको चास्नीमा डुबुल्की मारिरहे। अख्तियारको दुरुपयोग गरिरहे। ठूला-ठूला काण्डमा फसे। तर देखिने बेलामा भने शालिन नेता रे। उफ् ! महराको हर्कतले मुलुक भित्र मात्र होइन् बाहिर पनि उत्तिकै चर्चा पाएको छ।
यसअघि महरा राजनीतिसँगै विभिन्न समय र प्रशंगमा विवादमा आइरहेकै व्यक्ति हुन्। पार्टीका लागि भन्दै चिनियाँसँग रकम मागेको काण्ड, ३३ किलो सुन काण्ड अनि हिन्दूलाई क्रिस्चियन बनाउने अभियानको काण्ड चर्चित छन्।
उनले आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि गरेको दुर्व्यवहार अनि राजीनामाको विषय नेपाली सञ्चारमाध्यम मात्र होइन। विदेशी सञ्चारमाध्यमले पनि उत्तिकै प्राथमिकता दिएर प्रकाशन गरेको छ। उनीबारे दी न्युयोर्क टाइम्सले समेत प्राथमिकतासाथ समाचार सम्प्रेषण गरेको छ। उसो त अब महराको मोहरा यहीं अन्त्य भएको अवस्था छ। उनी राजनीतिक धरातलमा अब उभिन सक्ने अवस्थै छैन। अब उनी थन्किन त थन्किए। परिवारजन, आफन्त, साथीभाइका अघि कालो पोतिएको अनुहार कसरी देखाएर हिँड्लान् त्यो त हेर्नै बाँकी छ।