नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरालाई पदबाट अलग भएर छानविनमा सहयोग गर्न आग्रह गरेका छन्।
सभामुख महरालाई जवरजस्ती करणीको आरोप लागेका बेला घटना टुंगो नलाग्दासम्म पदबाट अलग हुन हिम्मत गर्न आग्रह गरे। ‘यो देशको प्रतिष्ठासंग पनि जोडिएको बिषय हो, आरोप आरोपमै सिमित हास्, गलत सावित होस्।’ उनले भने –‘उहाँले घटना टुंगो नलाग्दासम्म सभामुख पदबाट अलग भएर बस्छु भन्ने हिम्मत गर्नुपर्छ।’
रिपोटर्स क्लवले मंगलबार बिहान बुटवलमा गरेको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य समेत रहेका थापाले सभामुख महरामाथी उठेका प्रश्नले प्रतिनीधि सभाका सदस्यका हैसियतले आफूलाई समेत स्तब्ध बनाएको बताए।
प्रहरी प्रशासनले पछिल्लो केही घटनाबाट आफ्नो साख गुमाएको औंल्याउँदै गुमेको साख यस घटनाबाट पुनः स्थापित गर्न पनि आग्रह गरे।
‘केसलाई त्यसै डिसमिस गर्ने प्रयास नहोस्, घटनाको गहिराईमा पुगेर अनुसन्धान हुनुपर्छ।’ उनले भने –‘अनुसन्धानबाट दोशी ठहरिनुहुन्छ भने सामान्य नागरिकलाई हुने कारवाही उहाँलाई हुनुपर्छ।’
फरक प्रसंगमा उनले अहिलेको सरकारलाई शासन गर्ने नैतिक ताकत नभएको टिप्पणी गरे। उहाँले सरकार बलियो देखिएपनि भित्र खोक्रो, कमजोर भएर तिलमिलाएको आरोप लगाए।
‘सरकारको शक्ति बैद्य हो, शासन गर्ने नैतिकता गुमाएको।’ नेता थापाले भने –‘सरकारले नैतिकता गुमाएका कारण शासन गर्ने नैतिक ताकत छैन।’
उनले चितवन, तनहुँ र नेपालगञ्जको घटनाले डरलाग्दो रुप लिएको बताउँदै सरकारले नै कार्यकर्तालाई आक्रमणकालागि उक्साउने र लोकलाजकालागि सामान्य छोप्ने काम मात्रै गरेको आरोप लगाए।
नेकपाका कार्यकर्ताले चितवनमा ज्ञानेन्द्र शाही, तनहुँमा सांसद तथा पूर्वमन्त्री मिनेन्द्र रिजाल र नेपालगञ्जमा नेपाली काँग्रेसको कार्यक्रम चलिरहँदा नेताहरुमाथि आक्रमण गरेका थिए।