गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आबद्ध भएको १२ वर्षको अभियानमा धेरै कुरा सिक्ने अवसर पाएँ। अग्रजसँगको संगतले मलाई धेरै कुरा सिकाएनमात्र, उमेरसँगै परिपक्व हुने र अझ एक पाइला अगाडि बढ्ने प्रेरणा पनि मिलेको छ।
आगामी कार्यकालका लागि मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णय गर्दा मनमा धेरै कुरा खेलेका थिए। जीवनको हरेक क्षणमा नयाँ कुराका लागि अगाडि बढ्न खोज्दा समय सबैका लागि उपयुक्त हुन पनि सक्छ, नहुन पनि सक्छ। तर मलाई लाग्यो मेरा लागि उपयुक्त समय यही हो। एनआरएन अभियानमा अघि बढ्दै गर्दा मैले देखेका सपना पूरा गर्न यो नै उत्तम समय हो भन्ने मेरो ठम्याइ छ। यो निर्णय गर्दै गर्दा एनआरएनएका अग्रज तथा साथीभाइको ऊर्जासमेत मैले आत्मसात गरेको थिएँ।
आजको मुख्य प्रश्न भनेको अब कस्तो एनआएएनए बनाउने भन्ने नै हो। हाम्रो गौरवशाली संस्था एनआरएनएले सामाजिक कार्यमा मातृभूमि नेपालका लागि दिएको योगदान अतुलनीय छ। देश दुख्दा हामीलाई विदेशमा दुख्छ। मातृभूमिको पहाडमा पहिरो जाँदा प्रवासिएको हाम्रो मनमा पनि स्वाभाविक पहिरो जान्छ। मातृभूमिको तराई डुबानमा पर्दा विदेशिएका मन आँशुमा डुब्छन्। वर्षाको मौसममा घर डुबान परेको घरपरिवारको ओतका लागि त्रिपाल र पाल कसरी पुर्याउने भनेर प्रवासको मन भत्भति पोल्छ। मातृभूमिमा विपद आइपर्दा सबै एनसीसीले गरेको योगदान अतुलनीय छ।
यो गरिमामय संस्थाको भविष्यबारे सोच्नुपर्ने बेला आएको छ। कुनै पनि संस्था सधै एकै किसिमको रणनीति र कार्यशैलीले चल्न सक्दैन भन्ने मेरो मान्यता छ। हामीले एनआरएनएको कार्यशैलीमा परिवर्तन ल्याउन सक्नुपर्छ। त्यसतर्फ अब सोचेर काम गर्ने बेला आएको छ। त्यसैले पनि मैले आँफूलाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेको हुँ। मसँग केही योजना छन् जसले हाम्रो कार्यशैलीमा परिवर्तन ल्याउन सक्ने मेरो विश्वास छ। यतिमात्र हैन, अब एनआरएनएलाई राम्रो र हाम्रो बनाउनेतर्फ कदम चल्नुपर्ने समय आइसकेको छ।
प्रवासमा हुर्कंदै गरेका हाम्रा सन्तती (जो दोस्रो पुस्ता भनेर चिनिन्छन्) लाई मातृभूमि नेपालसँग जोड्ने सूत्र हामीलाई चाहिएको छ। यो आजको मुलभूत आवश्यकता हो। यो पुस्ताले मातृभूमि नेपाल नबिर्सिउन् भन्नका लागि अब ठोस कार्ययोजना चाहिएको छ। दोस्रो पुस्ताले विदेशमा बसेर धेरै जाने बुझेको छ। उनीहरूको सीप र दक्षता मातृभूमिका लागि कसरी र कहाँ उपयुक्त हुन्छ खोज्ने बेला आएको छ।
अर्को प्रमुख एजेन्डा खाडी मुलुकमा बस्ने नेपालीका लागि केही नयाँ कार्य गर्नुपर्छ भन्ने हो। मातृभूमिका लागि श्रम, पसिनाको कमाइ पठाएर नेपालको अर्थतन्त्र धानेका हाम्रा दाजुभाइको पसिनालाई देशको लगानीका रुपमा भित्र्याउनु पर्छ भन्ने सोचका साथ खाडी मुलुकका नेपाली दाजुभाइको लागि नेपालमा लगानी गर्न वातावरण मिलाउने मेरो योजना छ।
यसका लागि उनीहरूको सानो कमाइ ठूला लगानीकर्तासँगै सामेल गराउनु पर्दछ। खाडी मुलुकमा बस्ने एक नेपालीले त्यस्ता परियोजनामा १०० डलरमात्र लगानी गरे भने पनि त्यसलाई धेरै मान्नु पर्छ। ‘खाडी मुलुकमा बस्ने नेपालीको लगानी, १०० देखि १००० डलरसम्म एनआरएन जमानी’’ भन्ने नाराका साथ नेपालमा सुरु हुँदै गरेका ठूला योजनामा एनआरएनमार्फत् खाडी मुलुकमा बस्ने नेपालीको लगानी सामेल गराउनु मेरो प्रमुख दायित्व हुनेछ। यसले खाडी मुलुकमा रहेका सबै नेपालीको देशप्रतिको दायित्वबोध गराउने मात्र नभई एउटा गर्वको अनुभूति दिलाउनेछ भन्ने मैले ठानेको छु।
एनआरएनएका अग्रज शेष घलेको नेतृत्वमा भूकम्पले क्षतिग्रस्त लाप्राक बस्ती निर्माण यो संस्थाको गरिमासँग जोडिएको विषय हो। लाप्राक बस्ती निर्माण पूरा भएर पनि एनआरएनले गर्व गर्न लायक प्रोजेक्ट बन्न नसकेको सत्य हो। लाप्राक प्रत्येक एनआरएनए सदस्यको भावनासँग जोडिएको छ। त्यो बस्ती निर्माणमा प्रत्येक एनआरएनहरूको श्रम परेको छ, चाहे त्यो एक डलर नै किन नहोस्। लाप्राक बस्ती एनआरएनको पहलमा निर्माण सम्पन्न भएको भनेर प्रत्येक एनआरएनलाई अनुभूति गराउनु पनि एक उपलब्धी हुने मैले ठानेको छु। लाप्राकबासीले घर पाए पनि जाडो महिनामा त्यहाँ बस्न उपयुक्त नभएको यथार्थ हामी सामु छ। यसका लागि लाप्राक बस्तीमा सौर्य ऊर्जा जडान गरी जाडो महिनामा पनि त्यो बस्तीमा बस्न उपयुक्त बनाउने योजना अगाडि ल्याउनेछु।
पुर्व अध्यक्षहरु उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्टसम्मिलित टिम बनाएर एकताबद्ध भएर काम गर्न सकियो भने एनआरएनका हरेक योजना पक्कै पनि सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु। यो एकता कायम राख्न पहल गर्नु मेरो प्रमुख दायित्व हुनेछ। अग्रजको सहभागिता, सम्मान अनि सहकार्यविना हाम्रा कुनै पनि काम सफल हुन सक्दैनन् भन्ने मेरो बुझाइ हो।
हामीले उठाएको अर्को मुद्धा हो एनआरएनहरूलाई नागरिकताको विषय हो। यसमा मेरो धारणा स्पष्ट छ कि एक पटकको नेपाली सधैंको नेपाली हुनुपर्छ। एनआरएनहरूलाई अधिकारसम्पन्न नागरिकता दिनुपर्छ भन्ने मेरो मान्यतामा अडिग छु। नेपालको संसदमा योसम्बन्धी विधेयक प्रस्तुत हुँदै गरेको अवस्थामा हामी सबै चनाखो भएर नेपाल सरकार अनि नेपालको संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई दबाब दिनु हाम्रो जिम्मेवारी हो। यसका लागि एउटा छुट्टै टिम बनाएर लाग्नुपर्छ भन्ने मेरो मान्यता छ।
‘हाम्रो एनआरएनए, राम्रो एनआरएनए’ बनाउन माथि उल्लेखित विषय समावेश गरी केही ठोस योजना बनाइ कार्यान्वयन गर्नु मेरो पहिलो प्रयास हुनेछ। एनआरएनकोे १२ वर्षको अभियानमा मैले के गरें र के गर्न सकिनँ त्यसको मूल्यांकन तपार्इंहरूले गर्नुहोला। मेरो भनाइ के हो भने अभियानका क्रममा आजसम्म मैले आत्मालाई धोका दिएको छैन। तपाईंहरूबाट पनि केही सिकेर अभियानलाई थप सशक्त बनाउने मेरो प्रयास हुनेछ। मेरो आग्रह छ कि मलाई सहयोग गर्नुहोस्, तपाईंलाई पछुताउन दिनेछैन। यो मेरो प्रतिबद्धता हो।
जय एनआरएन, जय मातृभूमि।
(आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्, उनी हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष हुन्)