नेकपाका कार्यकर्ताहरु अराजकतामा उत्रिएको आरोप लागिरहेका बेला प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा प्रदेश ईन्चार्ज शंकर पोख्रेलले भने कार्यकर्ताहरुलाई प्रतिवादमा उत्रिन आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्रीय समन्वय कमिटीले रुपन्देहीमा आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले सरकार, पार्टी र नेतृत्वमाथि असाधारण रुपमा हमला भइरहेको भन्दै प्रतिवादमा उत्रिन आग्रह गरेका हुन् ।विरोधीहरुले हमला गरिरहँदा पनि पार्टी कार्यकर्ताहरु उदासिन भएर बसिरहेको भन्दै उनले नियोजित हमलाको प्रतिवाद गर्न आग्रह गरे । पार्टी, सरकार र नेतृत्वमाथि भइरहेको यो हमला वस्तुगत जगमा उभिएर नभएको उनले दावी गरे ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले दुईवटा ठूला पार्टीलाई मिलाएर एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गरेकाले त्यसबाट अत्तालिएका र निराश भएकाहरुले पार्टी, सरकार र नेतृत्वमाथि हमला गरिरहेको आरोप लगाए । “एकताबाट अत्तालिएका र निराश भएकाहरुले यो एकतालाई कसरी कमजोर पार्न सकिन्छ, नेताहरुलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने अर्थमा नियोजित रुपमा प्रचार अभियान चलाएका छन्”–पोखरेलले भने ।
तत्कालीन एमाले र माओवादी केन्द्रले दुईवटा पार्टीलाई एकताबद्ध गरेर दुनियाका सामू चुनौती खडा गरेको तर त्यो चुनौतीलाई सामना गर्न कार्यकर्तापंक्तिलाई तयार गर्न नसकेको उनले स्वीकार गरे । “कार्यकर्तापंक्तिलाई चुनौती सामनाका लागि तयार गर्न नसक्नु हाम्रो कमजोरी थियो”–मुख्यमन्त्री पोखरेलले भने ।
सरकारले सिण्डिकेट अन्त्य गर्न खोज्दा यातायात व्यवसायीहरु सरकारविरुद्ध उत्रिएको, मेनपावर व्यवसायीहरुले गरिरहेको ठगी नियन्त्रण गर्न खोज्दा वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरु सरकारविरुद्ध उत्रिएको उदाहरण दिंदै उनले राम्रो काम गर्न खोज्दा हुने प्रहारबाट सरकार नडराउने पनि पोखरेलले बताए ।
सरकारले सुधारका काम गर्न नथालेको भए सबैतिरबाट साथ पाउने उल्लेख गर्दै उनले तर त्यसो गर्न सरकारले खोजेको भए मुलुक नबन्ने दाबी गरे । मुख्यमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सुधारका धेरै राम्रा काम अगाडि बढाएको पनि दाबी गरे । प्रदेश पाँच सरकारले मात्रै गतवर्ष दुईसय किलोमिटर सडक कालोपत्रे गरेको उनले उल्लेख गरे ।