तराई मधेश लोकतान्त्रिक पार्टीका नेता राजेन्द्र महतोले संविधान दिवसमा सरकारले दीपावली मनाउन जारी गरेको उर्दीप्रति आपत्ति जनाउँदै आफूहरुले ब्ल्याकआउट गर्ने बताएका छन्।
संसदको चालु अधिबेशनको अन्तिम दिन संसदमा बोल्दै सांसद महतोले असन्तुुष्टका पक्षका माग सम्बोधन गरेर संबिधान संशोधन गर्ने प्रतिबद्धताबाट सरकार पछाडि हटेको भन्दै संशोधन नभएसम्म आफूहरुले संबिधान दिवसलाई ब्ल्याकआउट गर्ने बताएका हुन्। उनले आफूहरुले पनि संबिधान दिवस मनाउने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
यो संबिधान राष्ट्रघाती भएको भन्दै मधेशी, थारु, आदिबासी र जनजातिका मुद्धालाई यसले संबोधन गर्न नसकेको महतोले उल्लेख गरे।
संबिधान संशोधनको मुद्धा ओझेलमा पार्ने हो भने कुनै दिन बिद्रोह हुने महतोले चेतावनी दिए। बिगतमा ६ वटा संबिधान जसरी असफल भए त्यसैगरी यो संबिधान असफल नहोस् भन्ने उनको भनाई थियो।
संविधान दिबस मनाउने सरकारको उर्दीलाई सरकारकै उपप्रधानमन्त्रीले बहिष्कार गरेको भन्दै उनले सरकारको नैतिकतामाथि प्रश्न उठेको बताए। उनले भने ‘पूरै सरकार संबिधान दिवस मनाउने पक्षमा छैन भने अरुलाई सरकारले मनाउ भनेर भन्ने नैतिक आधार के छ ?’