निर्वाचन आयोगले अहिलेकै अवस्थामा विदेशमा रहेका नेपालीलाई मताधिकार दिन नसकिने जनाएको छ । मंसिर १४ मा हुने उपचुनाव नमुना योजना (पाइलट प्रोजेक्ट) का रुपमा केही स्थानका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सांसदहरुले माग गरे पनि निर्वाचन आयोगले यो तत्काल सम्भव नहुने बताएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उपस्थित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विदेशमा रहेका नेपालीका लागि उपचुनावमा मताधिकार व्यवस्था गर्न नसकिने जवाफ दिएका हुन् । ‘हामीले यसबारे पनि छलफल र अध्ययन गरेका छौँ,’ उनले भने, ‘अहिले नै विदेशमा भएका नेपालीलाई मताधिकार दिन सकिँदैन । विश्वका अन्य देशको प्रक्रिया पनि हेरिरहेका छौँ ।’
बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडूले विदेश रहेका नागरिकका लागि पाइलट प्रोजेक्टका रुपमा मताधिकारको अभ्यास गरे राम्रो हुने सुझाएका थिए । ‘विदेशमा रहेका नेपालीका लागि केही कूटनीतिक निकायमा यो अभ्यास गरेको भए हुन्थ्यो,’ उनले भने, ‘कूटनीतिक नियोगलाई मतदान केन्द्र बनाउनुपर्छ । बरु निर्वाचन अधिकृत नेपालबाटै पठाएर मतदान गराउनुपर्छ ।’