प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माण र रंगरोगमै आफ्नो कार्यकाल सकिन लागेको बताएका छन्।
बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको बिहीबार बिहान शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भवन निर्माण र रंगरोगमै सकिए पनि आफूपछिका प्रधानमन्त्रीले त्यसको उपभोग गर्न पाउने बताए।
‘नयाँ बन्न लागेको भवन मेरो लागिमात्र होइन’ ओलीले भने ‘भोलिको आवश्यकतालाई मध्यनजर गरेर प्रधानमन्त्री निवासको नयाँ भवन निर्माण गर्न लागिएको हो।’ ‘म अहिले ४१ औं प्रधानमन्त्री छु’, उनले भने, ‘यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ।’ उनले आफ्नो कार्यकाल ठाङठाङ ठुङठुङमै बित्ने उल्लेख गरे।
प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै गरेको भवनको ठाङठङ ठुङठुङ आफूले सन्नु परे पनि आफूपछिका प्रधानमन्त्री शान्तिपूर्वक बस्न पाउने ओलीको भनाइ थियो। ‘राति पनि दिउँसो पनि ठाङठाङ ठुङठुङ सुन्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ किनभने त्यतिबेला सबै बनिसकेका हुन्छन्।’