प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नामाकरण र राजधानीको टुंगो यसै वर्ष लाग्ने बताए छन्।
सरकार गठन भएको लामो समयसम्म पनि नामाकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोखरेलले यसै वर्ष नाम र केन्द्र टुंग्याउने दावी गरेका हुन्। सबैलाई चित्तबुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै ग¥यो राम्रै ग¥यो भन्ने बनाउन आफूहरु लागिपरेको बताए।
प्रेस संगठन नेपालले मंगलबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘स्वभाविक रुपमा यो वर्ष टुग्याउँछौं भनेका छौं। किनकी हामी एउटा विधि प्रक्रियाबाट अगाडि बढ्ने प्रयास गरेका छौं । हामीले प्रदेश सभामा एउटा समिति बनाएका छौं समितिले जिल्ला जिल्लामा गएर सुझाब संकलन गर्ने र त्यसको रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ । त्यसपछि विज्ञको टिमले काम गर्दैछ । विज्ञको रिर्पोट आइसकेपछि दुबै रिपोर्टलाइ एकिकृत गरी प्रस्ताव प्रस्तुत गर्छौं। प्रदेश सभामा प्रस्तुत गरेर त्यसबाट टुंगाउन्छौं।’
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि २०७६ मा राजधानी र नामाकरणको टुङ्गो लगाउने उल्लेख गरेको उनले बताए। सबैको समान धारणा बनाएर अघि बढ्नका लागि केहि समय ढिला भएको स्वीकार्दै उनले अव भने विलम्ब गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा ५ नम्बर प्रदेश सरकारले काम गरिरहेको बताए। संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको छ। उनले भने,‘संघीयता जनताको लागि ल्याएको हो । विकासका काममा जनताको खर्च घटेको छ। त्यही नै संघीयताको मुल मर्म हो।’ प्रदेश ५ सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडि रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताए। उनले विकास निर्माण र समृद्धिको दिसामा सरकार अगाडि बढेको बताए।
राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमासबै दलहरु बीच सहकार्य हुनुपर्ने बताए। अर्घाखाँची सँगसँगै प्रदेश ५ सरकारकै गौरवको आयोजना हुनेगरी नौमुरे जलविद्युत आयोजनाको काम अगाडि बढाउन आफूहरुले पहल थालेको उनले बताए।