देशभरका प्रध्यापकहरुको छाता संस्था नेपाल प्रध्यापक संघको केन्द्रीय सभापतिमा बुटवलमा कार्यरत प्रा. डा. बुद्धबहादुर थापा निर्बिरोध निर्वाचित भएका छन्।
काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनबाट डा. थापालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो। थापा बुटवल वहुमुखी क्याम्पसमा आबद्ध छन्।
वाँकी रहेका सदस्यको हकमा भने कात्तिक २३ गते काठमाडौंमा हुने निर्वाचन प्रक्रियाबाट टुङग्याईने निर्वाचन समितिका संयोजक प्रा डा रामप्रसाद ज्ञवालीले जानकारी दिए। महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार सभापतिमा डा. थापाको मात्र उमेदवारी परेकोले उनि निर्विरोध भएका हुन्। संघमा २० जना सदस्य रहने विधान अनुसार व्यवस्था भएपनि २१ जनाको उमेद्वारी परेकोले मतदान हुने भएको हो।
प्रजातन्त्रबादी प्राध्यापक संघको महासचिव भैसकेका थापा सबैलाई मिलाएर लैजानसक्ने क्षमताका कारण पनि लोकप्रिय छन्। नेपाली कांग्रेसका महासमिति सदस्य समेत भैसकेका थापा बरिष्ठ अधिवक्ता पनि हुन्। उनी उच्च अदालत वार एकाई बुटवलका पुर्व अध्यक्ष समेत हुन्। लामो समयदेखि प्राध्यापन पेशामा रहेर कार्यसम्पादन गरेका थापाले निर्बिरोध भएसंगै देशभरीकै प्राध्यापकहरुको विश्वासलाई गुम्न नदिने प्रतिक्रिया दिए।
उनले प्रध्यापकहरुका पेशागत धेरै खालका समस्या रहेकाले सरोकारवाला निकायसंग संवाद गरेर समाधान गरिने पनि बताए। नेपालमा विभिन्न १० वटा विश्वविद्यालय अन्तरगतका २० हजार भन्दा वढी प्रध्यापकहरु संघमा आवद्ध रहेका छन्।